जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार १५:३३

  ऊर्जा मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको महासभामा सहभागी हुन भारत प्रस्थान


काठमाडौं, कात्तिक १०। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ महासभामा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

उहाँ सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । नयाँ दिल्लीमा आयोजना हुने सो महासभा कात्तिक १० देखि १३ गतेसम्म (अक्टोबर २७–३०, २०२५) सञ्चालन हुनेछ । कार्यक्रममा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

महासभामा सदस्य राष्ट्रका प्रतिनिधिहरूबिच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाहरू विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ ।

नेपालको तर्फबाट सहभागिता जनाउँदै मन्त्री घिसिङले सभामा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको प्रयोग विस्तार गर्न प्रतिबद्धता जनाएको छ र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रममा सहभागिता जनाएको हो ।

सन् २०१५ नोभेम्बरमा पेरिस घोषणामार्फत स्थापना गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance-ISA) को उद्देश्य सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रयोग विस्तारका साझा चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नु हो । यस पहलमार्फत सन् २०३० सम्ममा एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने र सौर्य प्रविधिको विकास तथा उपयोगमा मार्गनिर्देशन गर्ने लक्ष्य राखिएको छ ।

नेपाल २०८१ साल भदौ महिनामा प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन भएपछि १०१ औँ सदस्य राष्ट्रका रूपमा आईएसएमा औपचारिक रूपमा आबद्ध भएको थियो ।

मन्त्री घिसिङ महासभामा सहभागिता जनाइ आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।