जनता टाइम्स

११ कार्तिक २०८२, मंगलबार १०:०१

वामपन्थी शक्तिहरूलाई एउटै झण्डामुनि एक हुन प्रचण्डकाे अपिल


काठमाडौं, कात्तिक ११। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभक्त, प्रगतिशील र माओवादी धाराका सबै वामपन्थी शक्तिहरूलाई एउटै झण्डामुनि एक हुन अपिल गर्नु भएकाे छ ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्डले देशमा देखिएका जटिलता, जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि देखा परेका चुनौतीहरूको समाधानका लागि वाम एकता अपरिहार्य भएको उल्लेख गर्नु भएकाे छ । ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिष्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उहाँले लेख्नु भएकाे छ।

प्रचण्डले हालको राजनीतिक अनिश्चितता, आर्थिक संकट र विदेशी प्रभावका कारण राष्ट्रिय सार्वभौमिकता चुनौतीमा परेको दाबी गर्दै त्यसको सामना गर्न वामपन्थी एकता आवश्यक रहेको बताउनुभएकाे छ । ‘राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ,’ प्रचण्डले लेखेका छन्, ‘यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।’

माओवादी केन्द्रले मंसिर दोस्रो साता भित्रै केन्द्रीय समितिको बैठक बोलाएर संगठन सुदृढीकरण र सम्भावित वाम सहकार्यका एजेन्डा छलफल गर्ने तयारी गरेको छ। प्रचण्डको यो अपिललाई नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका वाम धाराका पार्टीहरूले कसरी प्रतिक्रिया दिनेछन् भन्ने चासो बढेको छ।