काठमाडौं, कात्तिक ११। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ ले औपचारिक रूपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा पार्टीका नेताहरू आयोग पुगेर दल दर्ताको निवेदन दर्ता गरेका हुन्।
प्रकाण्डले आयोगमा निवेदन बुझाएपछि पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु गर्यौँ, यसले आगामी दिनमा देशका विद्यमान समस्या समाधान र राजनीतिक परिवर्तनमा विशेष भूमिका खेल्नेछ।’
नेपालको राजनीतिमा सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन भएको बताउँदै उहाँले जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न र आफ्नै भविष्यको फैसला गर्न दिने माध्यम यही भएको प्रष्ट पार्नुभयो । ‘त्यसैले हाम्रो पार्टीले पनि यही विधि अनुसार अघि बढ्ने निर्णय गरेको हो’, उहाँले भन्नुभयो ।
प्रकाण्डले जेनजी आन्दोलनपछि बनेको सरकारका अगाडि ठूला चुनौती र प्रश्नहरू उभिएका भन्दै ती समस्याको समाधानका लागि राष्ट्रिय राजनीतिमा नयाँ छलफल र विकल्प आवश्यक भएको बताउनुभयो ।
विप्लव नेतृत्वको पार्टीले अब औपचारिक रूपमा दल दर्ता भएपछि संघीय निर्वाचनमा भाग लिने सम्भावना पनि बढेको छ। यसअघि भूमिगत गतिविधिबाट खुलेर राजनीतिक मुख्यधारमा आएको सो समूहले राष्ट्रव्यापी संगठन विस्तारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा दल एकताको कुरा चलिरहेको भए पनि निर्वाचनको लागि दल दर्ता भएपछि त्यो सम्भावना टरेको जस्तो देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्