जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार १०:५३

मनाङमा हिमपातकाे कारण अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको उद्धार टोलीद्वारा सुरक्षित स्थानमा पुर्‍याइयो


मनाङ, कात्तिक १२। मनाङ जिल्लाका उच्च हिमाली क्षेत्रहरू तिलिचो, खाङ्सार, पिसाङ, अपर मनाङ र हुम्दे क्षेत्रमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण अलपत्र  परेका सयौं पर्यटकलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा पुर्याएका छन् ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा २ सय भन्दा बढी विदेशी पर्यटकसहित करिब १ हजार ५ सय जनालाई सुरक्षित स्थानमा पुर्‍याएको सेनाले जनाएको छ।

उद्धार कार्य हिमपात बढेसँगै कठिन बनेको भए पनि सेनाको टोलीले हिउँले ढाकिएका कठिन भू–भागमा पैदल यात्रामार्फत फसेकाहरूलाई खोजी गरी सुरक्षित क्षेत्रमा पुर्‍याएको जनाइएको छ।

नेपाली सेनाले विपद्‌का बेला नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्ने जिम्मेवारी अन्तर्गत उद्धार कार्यलाई निरन्तरता दिएको र अझै पनि प्रभावित क्षेत्रहरूमा निगरानी जारी राखेको जनाएको छ।

स्थानीय प्रशासनका अनुसार हाल सबै उद्धार गरिएका व्यक्तिहरू सुरक्षित रहेका छन्। केही पर्यटकहरूलाई प्राथमिक स्वास्थ्य परीक्षणका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ।

भारी हिमपातका कारण मनाङको आवागमनमा असहजता आएको र सडक तथा पैदमार्गका कतिपय भागमा हिउँ जमेकाले यातायात ठप्प भएको जनाइएको छ। प्रशासनले मौसम स्थिर नभएसम्म अनावश्यक यात्रामा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।