काठमाडौं,कात्तिक १२ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गर्नुभएको छ । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्रका मतभेदलाई छोडेर अब एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले अहिले देश गम्भीर संकटमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने समय आएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुनुहुन्छ, सक्रिय सदस्यहरूले नै पार्टीको नेतृत्व गर्नुहुन्छ, हाम्रो पद्धति त्यही हो, अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भन्ने विषयमा केन्द्रित छ, त्यो नै अचुक औषधि जस्तै हो ।’
डा. महतले संकटको समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप नगरी सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामीमा कमीकमजोरी अवश्य छन्, त्यसको हिस्सेदार म पनि हुँ तर अहिले हामी सबै एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन ।’
उहाँले सामाजिक सञ्जालमा फैलिने नकारात्मक टिप्पणी र राजनीतिक अविश्वासको संस्कृतिप्रति पनि चिन्ता प्रकट गर्नुभयो । उहाँका अनुसार, ‘राजनीतिमा सबै खत्तम हुन्, सबै बदमास हुन् भन्ने प्रवृत्ति मौलाउँदै गएको छ, यस्तो नकारात्मक भाष्य सामाजिक सञ्जालमार्फत जबरजस्ती सम्प्रेषित भइरहेको छ ।’
डा. महतले कांग्रेसभित्र आत्मनिन्दा र आत्मविश्वासको कमी देखिएको उल्लेख गर्दै भन्नुभयो, ‘जति कमीकमजोरी छ, त्यो भन्दा बढी आत्मनिन्दा भएको छ, त्यसैले कांग्रेसजनको आत्मबल कमजोर भएको छ, अब सुशासन र सुधारका पक्षमा ठोस रूपमा उभिनु आवश्यक छ ।’
उहाँले पार्टीले आगामी विशेष महाधिवेशनलाई संगठनात्मक सुधार र एकताको अवसरका रूपमा लिनुपर्ने सुझाव पनि दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्