सुर्खेत, कात्तिक १२ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले मुलुकको जटिल राजनीतिक परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व एमालेले गर्नुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ कर्णाली प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले असहज परिस्थिति र चुनौतीका बीच पनि जो नेतृत्वका साथ अगाडि बढ्छ, त्यही साँचो नेता हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको अवस्था सामान्य छैन, संविधानको मर्ममाथि आक्रमण भइरहेको छ, यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ ।’
मुख्यमन्त्री कँडेलले पार्टीका कमिटी र जनसंगठनमा केही समस्या रहेका भए पनि अब ढिलाइ नगरी सबै कार्यकर्तालाई सडकमा सक्रिय हुन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रको निर्देशन पर्खिनु पर्दैन, सिर्जनात्मक रूपमा जनता बीच पुग्नुहोस्, अहिलेको समयमा जनतालाई पार्टीको नीति, दृष्टि र देशप्रतिको प्रतिबद्धता बुझाउने जिम्मा सबै तहका नेता–कार्यकर्ताले लिनुपर्छ ।’
उहाँले लोकतान्त्रिक शक्तिहरू एकजुट भई संविधान र लोकतन्त्रको रक्षा गर्न सडकमा निस्कनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘गाउँगाउँमा नेकपा (एमाले) का विचार बोक्ने हामी नै हौँ,’ उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा माओवादी केन्द्रका संयोजक प्रचण्ड आफैँ जेनजी भएको भ्रममा हुनुहुन्छ, नेपाली कांग्रेस अनिश्चिततामा छ, यस्तो समयमा हामीले नै देशलाई स्थिरताको बाटोमा अघि बढाउनुपर्छ ।’
मुख्यमन्त्री कँडेलले अखिल नेपाल महिला संघको भूमिकालाई विशेष रूपमा सराहना गर्दै संगठनले देशभर जनचेतना फैलाउने र पार्टीलाई सशक्त बनाउन अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, संविधानको रक्षा र देशको स्थायित्वका लागि एमाले अब निर्णायक मोडमा प्रवेश गरेको छ ।













प्रतिक्रिया दिनुहोस्