रामेछाप, कात्तिक १३ । दशैँकाे बेलामा बिपी राजमार्गमा क्षति पुर्याएपछि रामेछापवासीलाई काठमाडाैं आवागमनमा असहज भएको बेला हप्तामा तीनवटा भन्दा बढी उडान सञ्चालन गरेका विमान कम्पनीहरूले अब आलोपालोमा काठमाडाैंबाट रामेछापका लागि हप्ताको एउटा उडान सञ्चालन गर्ने भएका छन् ।
तीनवटा विमान कम्पनीहरू सीता एयर, तारा एयर र समिट एयरले आलोपालो गरेर हप्तामा एउटा उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका स्थानीय शान्तिदीप युवा क्लबका अध्यक्ष सुरेश उदासले जनाकारी दिनुभयो । यस अघि बिपी राजमार्गमा क्षति पुगेर आवागमनमा असहज भएको बेला सो संस्थाले स्थानीय प्रशासन, जनप्रतिनिधिहरू, नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्रदायक कम्पनीसँग समन्वय र सहकार्य गरी उडान सञ्चालनको लागि पहल गरेको थियो । त्यस बेलादेखि नै मन्थली विमानस्थलमा नियमित उडान सञ्चालनका लागि संस्थाले सराेकारवालाई झकझक्याउँदै आएको थियो ।
परिणामस्वरूप सीता एयर, तारा एयर र समिट एयर मिलेर काठमाडाैं- मन्थलीको लागि हप्ताको एउटा उडान सञ्चालन गर्न सहमत भएका छन् । अब प्रत्येक हप्ताको शुक्रबार काठमाडाैं-मन्थलीकाे लागि उडान हुने उदासले बताउनुभयो । यसले मन्थलीबाट काठमाडाैं आउजाउ गर्ने अत्यावश्यक काम पर्ने, बिरामी, अशक्त, गर्भवती तथा साना बच्चा भएका सुत्केरी महिलाहरूलाई सहज हुने विश्वास लिइएको छ ।
मन्थली विमानस्थल रामेछापका साथै दोलखा, सिन्धुली र ओखलढुङ्गाका रामेछापसँग सीमा जोडिएका बासिन्दाका लागि समेत केन्द्र पर्दछ । दोलखा र सिन्धुलीमा कुनै विमानस्थल छैनन् भने ओखलढुङ्गाको पनि लिखु क्षेत्रका नागरिकलाई काठमाडौं आउजाउ गर्न मन्थली विमानस्थल नै पायक पर्ने गर्दछ ।
शान्तिदीप युवा क्लब रामेछाप मन्थलीले निरन्तर हवाई उडानको व्यवस्था मिलाउन पहल गरी सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, रामेछाप, नेपाल नागरिक उड्डयन कार्यालय र सम्पूर्ण सरोकारवाला तथा विमान सेवा प्रदायक कम्पनीलाई धन्यवाद दिएको छ ।













प्रतिक्रिया दिनुहोस्