मुस्ताङ, कात्तिक १४। मुस्ताङको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।
नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि कात्तिक १४ गते करिब ४ हजार ९ सय मिटर उचाइमा अवस्थित बतासे डाँडा क्षेत्रमा उनीहरूलाई फेला पारेको हो। उद्धारपछि सबै पर्यटकको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको र तिनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।
उद्धार कार्यमा नेपाली सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शकहरू समेतको संयुक्त टोली संलग्न रहेको थियो। फेला परेका पर्यटकहरूलाई जोमसोम ल्याउने कार्य भइरहेको सेनाले जनाएको छ।
तीन दिनसम्म प्रतिकूल मौसम र हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भए पनि टोलीले उच्च समन्वय र साहसका साथ सफलतापूर्वक उद्धार कार्य सम्पन्न गरेको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्