काठमाडौं, कात्तिक १५ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका वामपन्थी दलबिच पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभएकाे छ । शनिबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकले पार्टी एकतालाई प्राथमिकतामा राख्दै चाँडै निष्कर्षमा पुग्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘आजको बैठकको मुख्य एजेण्डा पार्टी एकता नै हो, वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत पक्षहरू लगभग टुङ्ग्याइसकेका छौँ, आजको छलफल भने प्राविधिक र सांगठनिक व्यवस्थापनमा केन्द्रित रह्यो ।’
उहाँका अनुसार माओवादी केन्द्रले एकीकृत समाजवादीसहित कम्तीमा ६ वटा वामपन्थी शक्तिसँग एकता वा सहकार्यका विषयमा ठोस छलफल अघि बढाएको छ । उहाँले भन्नुभयो, ‘छलफलमा नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, एमालेबाट विद्रोह गर्नुभएका प्रेमबहादुर सिंह र राजु कार्कीको नेकपा (समाजवादी), सुवास काफ्लेको जनसमाजवादी पार्टी, साथै हालै नेकपाबाट अलग हुनुभएका चिरण सीसँग पनि संवाद भइरहेको छ ।’
उहाँले विप्लव नेतृत्वको नेकपालाई पनि एकतामा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँका शब्दमा, ‘विप्लव सीको पार्टीलाई सँगै ल्याउने हाम्रो प्रयत्न छ । तर, एकीकृत समाजवादी पार्टीलाई सोलेडोले ल्याउने जिम्मा हामीले लिएका छैनौँ, त्यो उहाँहरूको आन्तरिक निर्णय हो ।’
प्रवक्ता सापकोटाले अब पार्टी एकता ढिलो गर्न नहुने स्पष्ट सन्देश दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी आज के निष्कर्षमा पुग्यौँ भने अब एकता गर्न ढिलो गर्नु हुँदैन, ढिलो भयो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहल कमजोर हुन्छ, अहिले जनतामा वाम एकताको आवश्यकता र अपेक्षा तीव्र छ ।’
उहाँका अनुसार माओवादी केन्द्रले वामपन्थी आन्दोलनलाई पुनः संगठित गर्ने रणनीति तयार गरिरहेको छ । अघिल्ला वर्षमा प्राप्त जनसमर्थन केही हदसम्म गुमाए पनि त्यो पुनः प्राप्त गर्नका लागि अब साझा वाम मोर्चा वा एकीकृत पार्टी अपरिहार्य देखिएको उहाँको भनाइ छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबिचको एकता प्रयास नयाँ होइन । २०७९ सालदेखि नै यी दुई दलबिच वैचारिक र राजनीतिक सहकार्यका प्रयास भइरहेका छन् । सोही क्रममा २०८० सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच पटक–पटक भेटवार्ता भएको थियो । तर, सत्ता समीकरण र पार्टीभित्रको सैद्धान्तिक मतभेदका कारण एकताको प्रक्रिया स्थगित हुँदै आएको हो ।
हाल सत्तारूढ गठबन्धनमा दुवै दल सहभागी रहेका कारण, आन्तरिक एकता र आगामी निर्वाचनमा सहकार्य दुवै दृष्टिले यो पहल निर्णायक हुने राजनीतिक विश्लेषकहरूको मत छ ।
माओवादी केन्द्रभित्रका स्रोतका अनुसार सम्भावित एकता ‘नयाँ पार्टी’ गठनमार्फत हुनसक्ने अनुमान गरिएको छ । यसमा ‘कम्युनिष्ट पार्टी अफ नेपाल’ भन्ने नाम प्रयोग गर्ने प्रस्ताव आएको बताइन्छ । वैचारिक रूपमा जनवाद र समाजवादको सम्मिश्रणका रूपमा नयाँ दस्तावेज तयार भइरहेको पनि स्रोतको दाबी छ । तर, नेतृत्वको ढाँचा र संगठन संरचना भने अझै टुङ्गोमा पुगेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सहअध्यक्षताको मोडेलबारे पनि छलफल भइरहेको बताइएको छ । पार्टी स्रष्टा स्तरमा भने केही नेताहरूले एकता पछि नयाँ पुस्ताको नेतृत्व ल्याउनुपर्ने सुझाव दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्