काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गर्नुभएको छ । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।
प्रधानमन्त्री कार्कीले हालको परिवर्तित राजनीतिक परिस्थिति र संघीय शासन प्रणालीका चुनौतीहरूलाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारबीच संवाद तथा सहकार्यलाई थप सुदृढ बनाउनका लागि बैठक बोलाउनुभएको हो ।
बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थित रहने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका अनुसार, संघीय शासन प्रणाली कार्यान्वयनका क्रममा देखा परेका व्यवहारिक समस्या, प्रदेश सरकारका अधिकार र संघीय सहकार्यका विषयमा खुला छलफल गर्ने उद्देश्य बैठकको रहेको छ ।
प्रधानमन्त्री कार्कीले संघ र प्रदेशबीच आपसी विश्वास, समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सुशासन र सेवा प्रवाहलाई जनमुखी बनाउने दिशामा यो बैठक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा संघीय मन्त्रालयका केही जिम्मेवार अधिकारीहरू पनि सहभागी हुनेछन्, जसले प्रदेश सरकारहरूसँग प्रत्यक्ष छलफल गरी संघीय नीति कार्यान्वयनमा देखिएका कमजोरी र सुधारका सुझाव प्रस्तुत गर्नेछन् ।













प्रतिक्रिया दिनुहोस्