रामेछाप, कात्तिक १६ । मन्थली नगरपालिका–०८, चिसापानीस्थित समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भीमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ प्रमुख अतिथि तथा वडा नं ८ का अध्यक्ष गोपाल श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो। सो अवसरमा पूर्व वडा अध्यक्ष, विद्यालयका प्रमुख तथा सृजनशील युवा समाजका अध्यक्षलगायतका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
साधारणसभामा संस्थाको विगत वर्षको आर्थिक विवरण, आय–व्यय, सदस्य वृद्धिदर, ऋण प्रवाह र बचतको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गरिएको थियो। संस्थाको गत आर्थिक वर्षमा सदस्य सङ्ख्यामा वृद्धि हुनुका साथै आर्थिक कारोबार सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो। उहाँले आगामी वर्षमा सहकारीलाई अझ सुदृढ र सदस्यमैत्री बनाउन नवीन योजना अघि सार्ने प्रतिबद्धता पनि जनाउनुभयो।
साधारण सभाको विशेष आकर्षणको रूपमा सहकारीको वित्तीय स्थायित्व र प्रगतिमा योगदान पुर्याउने विभिन्न विधाका १३ जना शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। ज्येष्ठ नागरिक शेयर सदस्य सम्मान अन्तर्गत पुरुषतर्फ ९० वर्षीय डम्बरबहादुर भुजेल र महिलातर्फ ८५ वर्षीया मिठु देवी श्रेष्ठलाई सम्मान गरिएको थियो। वर्षको उत्कृष्ट बचतकर्ता पुरुषतर्फ रुद्र बहादुर बुढा र महिलातर्फ दालचिनी दमाई रहनुभयो। त्यस्तै वर्षको उत्कृष्ट ऋणी सम्मान पुरुषतर्फ फाल्गुणीप्रसाद उपाध्याय ढुङ्गेल र महिलातर्फ हस्ती तामाङलाई प्रदान गरिएको थियो।
बालबचत कोषतर्फ बालक सनिश माझी र बालिका अर्विता कर्माचार्यलाई उत्कृष्ट बाल बचतकर्ता सम्मान प्रदान गरिएको थियो। सदस्य वृद्धिमा विशेष योगदान पुर्याउनु हुने मन्थली–१० चनखुका नवीन्द्रकुमार कार्कीलाई समेत साधारणसभामा सम्मान गरिएको थियो।
सोही अवसरमा सहकारीको कार्यक्षेत्रभित्रको विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । जसअनुसार भिमेश्वर रुद्र माध्यमिक विद्यालयका निशान खत्री र सरस्वती माध्यमिक विद्यालयकी अनुसा बोहरा उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित हुनुभयो।
संस्थाका व्यवस्थापक अर्जुनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट कर्मचारीका रूपमा चयन हुनुभयो भने २०६९ साल मंसिर १ गतेदेखि २०८२ साल असार ३२ गतेसम्म संस्थामा सेवाग्राही रहनुभएका पूर्वकर्मचारी दिपबहादुर खत्रीलाई कदरपत्र प्रदान गरिएको थियो। सहकारीले सबै सम्मानित सदस्यहरूलाई सम्मानपत्र, दोसल्ला र खातामा १ हजार रुपैयाँ बराबरका १० थान शेयर थप गरेर सम्मान गरेको थियो।
साधारण सभाको समापन कार्यक्रममा अध्यक्ष श्रेष्ठले सहकारीको प्रगति र सदस्य हितका लागि निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रतिकूल मौसमका बीच पनि कार्यक्रम सफल पार्न योगदान दिनु हुने सम्पूर्ण सदस्य, कर्मचारी, सरोकारवाला निकाय र सहयोगी हातप्रति संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले सहकारीले आगामी वर्षमा सदस्यहरूको सीप विकास, आर्थिक सशक्तीकरण र स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्ने योजनाबारे पनि जानकारी गराउनुभयो।
असार मसान्तसम्म सस्थाको कुल सम्पती ९ करोड ७६ लाख २२ हजार २ सय ९ रुपैँया रहेको छ । संस्थाकाे नाफा १० लाख २१ हजार रहेको आर्थिक प्रतिवेदन काेषाध्यक्ष उमेश कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएकाे थियाे।
संस्थाको विनियम २०८० संसोधन तथा ७ वटा थप नया आन्तरिक कार्यविधिहरु निर्माण भएकाे ब्यवस्थापक अर्जुनकुमार श्रेष्ठले साधारणसभामा जानकारी गराउनुभएकाेमा सभाले त्यसलाई पास गरेकाे छ ।













प्रतिक्रिया दिनुहोस्