जनता टाइम्स

५ मंसिर २०८२, शुक्रबार २१:३८

रामेछापको रजगाउँमा सुमो दुर्घटना : एक जनाको ज्यान गयो, ७ घाइते 


रामेछाप, मंसिर ५ ।  रामेछापको खाँडादेवी गाउँपालिका–४, रजगाउँस्थित माडी मुहानको भित्री सडक खण्डमा शुक्रबार भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ४:३० बजे रजगाउँबाट मन्थलीतर्फ आउँदै गरेको ना.१ ज ५५५८ नम्बरको सुमो करिब ५० मिटर तल खस्दा चालकसहित सबै ८ जना घाइते हुनुभएको थियो।

घाइतेमध्ये मन्थली नगरपालिका–३ की ५३ वर्षीया गीतामाया जोगीको मन्थली अस्पतालमा साँझ करिब ७ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी भोला भट्टका अनुसार दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा सबै घाइतेलाई उद्धार गरी मन्थली अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनामा मन्थली नगरपालिका–२, तल्लो कठजोरकी ४० वर्षीया कोपिला श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ। त्यस्तै १४ वर्षीया सञ्चिता श्रेष्ठ, मन्थली–३ की ७० वर्षीया तिलमाया श्रेष्ठ, ५० वर्षीया कृष्णमाया खड्का, ५५ वर्षीया कोपिला जोगी, ७८ वर्षीया चेतकुमारी श्रेष्ठ र ४९ वर्षीय चालक रमेश बुढाथोकी पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ।

डिएसपी भट्टका अनुसार गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइसकिएको छ भने बाँकी तीन जनालाई पनि रेफर गर्ने तयारी भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।