जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार १३:४८

अर्थमन्त्रीले राष्ट्रिय हित र स्वाभिमान बन्धक राखेर भारतको चाकडी गरे : नीरज आचार्य 


काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भारतसँगको सम्बन्ध सुदृढ बनाउने नाममा नेपालको राष्ट्रिय हित र स्वाभिमानलाई गौण बनाउन नहुने बताउनुभएकाे छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति दिएको सन्दर्भमा आचार्यले त्यसको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाउनुभएकाे हाे । ‘नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन तर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अङ्ग हो,’ आचार्यले भन्नुभएकाे छ, ‘भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु उचित हुँदैन ।’

नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै आचार्यले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित रहेको बताउनुभएकाे छ । ‘यी आधारभूत तथ्यबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनभिज्ञ हुनुहुन्छ भन्ने लागेको छैन,’ उहाँले भन्नुभएकाे छ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा स्थापित रहेको उल्लेख गर्दै आचार्यले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता भए पनि त्यसका लागि अतिरिक्त चाकडी आवश्यक नहुने बताउनुभएकाे छ । ‘छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो, तर त्यसका लागि आफ्ना राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु र अतिरिक्त चाकडी आवश्यक छैन,’ आचार्यको भनाइ छ ।

उहाँले कूटनीति भनेको अर्को देशको आलोचना वा प्रशंसा गर्नु मात्र नभई आफ्ना राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नु भएको बताउनुभएकाे छ। भारतसँग व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य आवश्यक रहेको भन्दै उहाँले सीमा विवादलगायत द्विपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएकाे छ। ‘मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर “तुम शरणम्” गर्ने धारणा दुवै अतिवादी सोच हुन्,’ आचार्यले भन्नुभएकाे छ । 

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रले आफ्ना राष्ट्रिय हित र प्राथमिकताका आधारमा धारणा व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ । तेस्रो मुलुकमा पुगेर आफ्नै देशको राष्ट्रवादी दृष्टिकोणलाई पुरानो वा असान्दर्भिक ठहर्‍याउने अभिव्यक्तिले कस्तो सन्देश दिन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने उहाँकाे भनाइ छ । 

नेपाल–भारत सम्बन्ध कुनै क्षणिक राजनीतिक अभिव्यक्ति वा एक जना नेताको दृष्टिकोणले मात्र निर्धारण नहुने उल्लेख गर्दै आचार्यले यो दुई देशका जनता, साझा इतिहास र दीर्घकालीन हितसँग जोडिएको सम्बन्ध भएको बताउनुभएकाे छ ।

‘अनावश्यक चाकडी वा उत्तेजना दुवैबाट मुक्त हुँदै पारस्परिक सम्मान, स्पष्ट राष्ट्रिय अडान र व्यावहारिक सहकार्यमा आधारित कूटनीति अवलम्बन गर्नु नै नेपालको हितमा हुन्छ,’ आचार्यको निष्कर्ष छ ।