काठमाडौं, मंसिर १३ । बाढी–पहिरोले बारम्बार क्षतिग्रस्त बनाएको बिपी राजमार्गको रोशी खोला खण्डमा सडक पुनर्निर्माणको काम सुरु भएको छ।
गत वर्ष र यस वर्षको बाढी–पहिरोका कारण क्षति पुगेको ३०.५ किलोमिटर सडकमध्ये २७.३ किलोमिटर क्षेत्रमा पुनर्निर्माण कार्य अघि बढेको हो। नेपाल सरकारको बजेटमा ठेक्का लागेका खण्डहरूमा निर्माण व्यवसायीले काम सुरु गरेका सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीले बताएका छन्।
जापानी सहयोग निकाय जाइकाको सहयोगमा पुनर्निर्माण गर्न लागिएको ३.२ किलोमिटर सडक खण्डमा भने ठेक्का प्रक्रिया अघि नबढेकाले निर्माण सुरु हुन नसकेको कार्यालयले जनाएको छ।
सार्वजनिक खरिद ऐनअनुसार ठेक्का सम्पन्न भएका क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढेको जनाइएको छ। विगतमा सिङ्गल लेन रहेको भकुन्डेबेसी–नेपालथोक खण्डमा बाढीले व्यापक क्षति पुर्याएपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण कार्य अघि बढाइएकाे छ।
राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन प्याकेज र सिन्धुलीतर्फ एक प्याकेज गरी ठेक्का सम्झौता गरिएको छ। सडक निर्माण सुरु भइसके पनि राजमार्गमा पर्ने पुलहरुको निर्माणका लागि भने ठेक्का प्रक्रिया सम्पन्न हुन नसक्दा काम सुरु हुन सकेको छैन।













प्रतिक्रिया दिनुहोस्