जनता टाइम्स

१६ मंसिर २०८२, मंगलवार ०८:१५

प्रचण्डलाई विमानस्थलमा मेरो ‘मेरो घर जलायौ, केही गर्न सकेनौ’ भनेको आरोपमा एक पक्राउ


विराटनगर,  मंसिर १६ । विराटनगर विमानस्थलमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहालमाथि चर्को स्वरमा गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेकपाको विराटनगरमा आयोजित सन्देशसभा सकेर फर्कने क्रममा विमानस्थल परिसरमा सोमबार साँझ एक युवकले प्रचण्डलाई गाली गर्दै बर्बराइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार, मादक पदार्थ सेवन गरेर ती व्यक्तिले प्रचण्डलाई गाली गरेको सूचनापछि पक्राउ गरिएको हो ।

प्रहरीले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन । यद्यपि प्रहरी स्रोतका अनुसार, प्रचण्डसँगै बुद्ध एयरको जहाजमा काठमाडौं जाने तयारीमा रहेका उदयपुरका अनुपबहादुर बस्नेत पक्राउ परेका हुन् ।उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा राखिएको छ ।

विमानस्थलमा प्रचण्डलाई देखेपछि ती व्यक्तिले ‘तपाईं प्रचण्ड होइन ?’ भन्दै प्रश्न गरेका थिए । ती व्यक्तिलाई प्रचण्डले ‘हो’ भनेर जवाफ दिनुभएको थियो । त्यसपछि ती व्यक्तिले ‘मेरो घर जलायौ, केही गर्न सकेनौ’ भनेको प्रहरी स्रोतले बतायो ।

प्रचण्ड हिजो साँझ ७ बजे काठमाडौं फर्कने टिकट थियो । फ्लाइट डिले हुने भएपछि उहाँको टिकट ४ः२० बाट पौने ७ बजेका लागि टिकट सारिएको थियो । प्लेन डिले भएपछि विमानस्थलमा पर्खने क्रममा प्रचण्डमाथि ती व्यक्तिले आफ्नो असन्तुष्टि राखेका थिए ।

नेकपाका नेता तथा तत्कालीन नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले भने प्रचण्डसँग ती व्यक्तिले चर्को स्वरमा बोलेको मात्रै बताउनुभयो । ‘ती व्यक्तिले मेरो घरमा आगो लगायौ भनेपछि पीएसओले साइड लगाएको रहेछ,’ उहाँले भन्नुभयो, ‘अलिक चर्को स्वरमा बोलेछन्, दुर्व्यवहार गरेको होइन ।’