काठमाडौं, मंसिर १७। नेकपा एमालेको प्रतिनिधि छनोट निर्वाचनमा विवाद उत्पन्न भएको तनहुँ क्षेत्र नम्बर १ मा पनि प्रतिनिधिको नाम सहमतिमा नै टुङ्ग्याइएको छ ।
देवघाट, भानु र आँबुखैरेनीमा मतगणना सकिएपछि बन्दीपुर गाउँपालिकामा पुगेका बेला विवाद हुँदा मतगणनाको काम रोकिएको थियो । सो विषयको समस्या जिल्लाले समाधान गर्न सहमितकाे बाटो खोजिएको थियो । सोमबार र मंगलबार उम्मेदवारहरूसँग भएको छलफलपछि पाँच जनाको नाम केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको छ। खुला तर्फ जिल्ला अध्यक्ष हरिराज कँडेल र प्रेमकुमार रानाको नाम टुङ्गो लगाइएको छ। महिलातर्फ मनुमाया श्रेष्ठ र फुलमती थापाको नाम सिफारिस गरिएको छ भने ४० वर्षमुनिका युवातर्फ मदन तिमिल्सेनालाई सिफारिस गरिएको छ।
पार्टीका जिल्ला अध्यक्ष कँडेलका अनुसार एउटा मतपेटिका हराएपछि पुनः मतदान गर्ने समय बाँकी नहुँदा सहमतिमै प्रतिनिधि चयन गर्ने जिम्मा केन्द्रीय स्तरका नेताहरूलाई दिइएको थियो । सहमतिको प्रक्रिया सञ्चालन गर्ने जिम्मा पार्टी पोलिटब्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने र सविता रसाइली तथा केन्द्रीय सल्लाहकार प्रतापलाल श्रेष्ठलाई दिइएको थियो। सबै उम्मेदवारले केन्द्रले गर्ने निर्णय स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सहमतिको आधारमा प्रतिनिधि टुङ्ग्याइएको हो ।













प्रतिक्रिया दिनुहोस्