काठमाडौं, मंसिर २१ । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ ।
पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीका तर्फबाट पर्चा (पत्र) तयार पारेर पठाउन थालिएको बताउनुभयो ।
राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको आग्रह छ ।उहाँले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गर्नुभएकाे छ । उहाँले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको टिप्पणी गर्नुभएकाे छ ।
यही मङ्सिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका लागि एमालेले वाग्मती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाएको सचिव डा. भट्टराईले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्