काठमाडौं, मंसिर २५ । नेकपा एमालेलेले चार वर्षको अवधिमा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता-कार्यकर्तालाई प्रशिक्षित गराएको छ ।
पार्टीको १० औँ महाधिवेशनपछि पार्टी स्कुल विभागले देशका ६६ जिल्लामा प्रशिक्षण कार्यक्रम गरी मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादका बारेमा ज्ञान दिएको हो । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व गर्नुभएको विभागले पार्टी र जनसंगठनदेखि प्रवाससम्म, जनप्रतिनिधिदेखि नवप्रवेशीसम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो ।
चार वर्षको अवधिमा जनसंगठनतर्फ ६ सय २५, प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षणमा ४ सय ८ जना र स्थानीय तहका जनप्रतिनिधि ६ सय ५६ जनालाई प्रशिक्षण दिइएको छ । यस्तै नवप्रवेशी २ सय ५०,जिल्ला तहका नेता कार्यकर्ता ५ हजार ४ सय २६,वित्त तथा कोष व्यवस्थापन ५६, भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ ।
विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कुल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ । विभागले उत्पादन गरेका प्रशिक्षकहरू प्रदेश, जिल्ला र स्थानीय तहहरूले आयोजना गर्ने प्रशिक्षणमा प्रशिक्षकको रूपमा काम गरिरहेका छन् ।
विभागले सातवटै प्रदेशमा स्थायी स्कुल सञ्चालन गर्ने तयारी गरेको छ । जस अनुसार केन्द्रको स्कुल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा, कोसीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा, मधेसको मदन आश्रित स्मृति भवन लालबन्दीमा,गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा, लुम्बिनीको नेपालगञ्ज,देउखुरी र बुटवलमा र सुदूरपश्चिमको कञ्चनपुर स्थित जिल्ला पार्टी कार्यालयमा स्थायी स्कुलको संरचना तयारी थालेको छ । विभागले आधारभूत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ ।













प्रतिक्रिया दिनुहोस्