रामेछाप, चैत ११ । रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदबाहेक अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ भने अध्यक्षमा मात्रै प्रतिस्पर्धा हुने निश्चित भएको छ।
संघको १५ सदस्यीय कार्यसमितिका लागि गरिएको मनोनयन प्रक्रियामा अध्यक्षबाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि ती पदहरूमा निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्था बनेको छ।
मंगलबार नेपाली काँग्रेस, नेकपा (एमाले) तथा नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ मनाेनयन दर्ता गराउनु भएकाे छ । स्वतन्त्र उम्मेदवारका रूपमा वर्तमान महासचिव कुमार श्रेष्ठले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।
निर्विरोध चयन हुनुभएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, महासचिवमा यज्ञ प्रसाद सुवेदी, सचिवमा सिताराम लोहार तथा कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) रहनुभएको छ।
त्यसैगरी, संयुक्त व्यवसायी समूहबाट वासुदेव फुयाँल आजीवन कार्यसमिति सदस्यमा पुनः चयन हुनुभएको छ। महिला सदस्यतर्फ मञ्जु माझी निर्विरोध चयन हुनुभएको छ भने खुल्ला सदस्यतर्फ श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ चयन हुनुभएको छ।
यसपटक पहिलोपटक समावेश गरिएको एसोसियट सदस्यतर्फ टिकाराज आरण निर्विरोध रूपमा कार्यसमितिमा प्रवेश गर्नुभएको छ।
संघको १५औँ वार्षिक साधारण सभा चैत १९ गते र ९औँ जिल्ला अधिवेशन तथा निर्वाचन चैत २० गतेका लागि तय गरिएको छ। अध्यक्ष पदमा हुने प्रतिस्पर्धालाई संघको आगामी नेतृत्व चयनका दृष्टिले विशेष चासोका साथ हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्