जनता टाइम्स

२० चैत्र २०८२, शुक्रबार १३:०७

सहकारी आन्दोलन संकटमा, सुधार र दक्ष नेतृत्व आवश्यकता रहेकाे रामेछापका सराेकारवालाकाे धारणा 


रामेछाप, चैत २० । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रामेछापका सहकारी अभियन्ता र सरोकारवालाले सहकारी आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन्।

शुक्रबार मन्थलीमा जिल्ला सहकारी संघ रामेछापको आयोजना गरिएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सहकारीको मुख्य उद्देश्य साना किसान, व्यवसायी र ग्रामीण अर्थतन्त्रलाई सहयोग गर्नु हुनु पर्ने बताए। उहाँले भन्नुभयो, ‘कमजोर व्यवस्थापन र नेतृत्वले सहकारी चलाउन असम्भव बनाएको छ, अब दक्ष व्यक्तिको संलग्नता, वित्तीय अनुशासन र सदस्यको बचतको सदुपयोगमा विशेष ध्यान दिनु आवश्यक छ।’

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले सहकारी सञ्चालनमा उत्पन्न चुनौती र जोखिमप्रति ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘अब हिजोझैँ अनुभव र परम्परामा भर परेर मात्र सहकारी चलाउन सकिने अवस्था छैन। नीति, विधि र वित्तीय अनुशासनलाई पूर्ण रूपमा बुझेर मात्र सहकारी सञ्चालन गर्नु आवश्यक छ। अन्यथा निर्दोष मानिसहरूले पनि जोखिममा पर्न सक्ने अवस्था छ।’

उहाँले हालसम्म सहकारी अभियानका संलग्न ७ सय बढी व्यक्तिहरू थुनामा परेका उदाहरण प्रस्तुत गर्दै, सहकारी प्रणालीलाई अनुशासित र पारदर्शी बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो।

दिवसको अवसरमा जिल्ला सहकारी संघले प्रभात फेरी, सहकारी सम्बन्धी प्रवचन र प्रश्नोत्तर कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम संघका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको थियो । जसमा सहकारी अभियन्ता र कर्मचारीहरूको सहभागिता  थियो।