काठमाडौँ, चैत २६ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को पछिल्लो अभिव्यक्तिप्रति कडा असहमति जनाउँदै एमालेको वैचारिक धरातल ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै रहेको स्पष्ट गर्नुभएको छ।
बादलले संसद् र सार्वजनिक मञ्चमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद चर्किरहेका बेला पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एमालेको आधिकारिक लाइनबारे स्पष्ट सन्देश दिनुभएको हो। पछिल्ला दिनमा विष्णु पौडेल र खीमलाल भट्टराईले पनि बादलको भनाइप्रति असन्तुष्टि जनाइसक्नु भएको छ।
पाण्डेले ‘राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठुलो शक्ति’ भएको उल्लेख गर्दै एमालेको आफ्नै गौरवशाली इतिहास, संघर्षको जग र मौलिक सिद्धान्त रहेको बताउनुभएको छ। ‘हामीले स्पष्ट हुनुपर्छ– माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन,एमालेको मूल बाटो ‘जनताको बहुदलीय जनवाद’ (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ’, उहाँकाे धारणा छ ।
पाण्डेको यो अभिव्यक्ति बादलले पोखराको कार्यक्रममा दिएको अभिव्यक्तिपछि आएको हो। पाण्डेले पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूका आफ्ना अनुभव र बुझाइ हुन सक्ने भए पनि एमालेको झण्डामुनि एकताबद्ध भएपछि अभिव्यक्ति र व्यवहार पार्टी दस्ताबेजसँग मेल खानुपर्नेमा जोड दिनुभएको छ। ‘संसद्मा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई ‘पार्टी लाइन’ भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ,’ उहाँले भन्नुभएको छ।
उहाँले अतिवादी र उग्र दृष्टिकोणले पार्टीलाई समयको गतिसँगै अगाडि बढाउनुको सट्टा झन् पछाडि धकेल्ने चेतावनी पनि दिनुभएको छ। पाण्डेले वर्तमान राजनीतिक आवश्यकतालाई विगतको द्वन्द्वकालीन भाष्यभन्दा लोकतान्त्रिक बाटोबाट आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ। ‘आजको आवश्यकता विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाउनु होइन, बरु शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिबाटै मुलुकको आर्थिक रूपान्तरण कसरी गर्ने भन्नेमा केन्द्रित हुनु हो,’ उहाँले उल्लेख गर्नुभएको छ।
एमालेभित्र बादलको अभिव्यक्तिलाई लिएर विष्णु पौडेल, योगेश भट्टराई र सुरेन्द्र पाण्डे लगायत नेताहरूले सार्वजनिक रूपमा असहमति जनाउँदै आउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्