काठमाडौं, वैशाख १ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी अधिकृत (प्रहरी निरीक्षक) अभय लामाको उपचारका क्रममा निधन भएको छ।
३२ वर्षीय लामा सवार बा.प्र.०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्र.०३–००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति करिब सवा ११ बजे ठक्कर दिएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गर्नुभएका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको हो।
दुर्घटनापछि उहाँलाई तत्काल उद्धार गरी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल पठाइएकोमा उपचारकै क्रममा उहाँको निधन भएको एसपी सुवेदीले जानकारी दिनुभयो।
लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत हुनुहुन्थ्यो। रामेछाप स्थायी घर भएका उहाँ तारकेश्वर–७, फुटुङमा बस्दै आउनुभएको थियो।
उहाँले २०७२ सालमा प्रहरी जवानका रूपमा सेवा सुरु गर्नुभएको थियो। त्यसपछि खुला प्रतिस्पर्धामार्फत प्रहरी सहायक निरीक्षकमा नाम निकाल्नुभएको र पुनः खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको थियाे ।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरको मनहरी–५ निवासी ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्