रामेछाप, वैशाख ४ । कुनै समय जिल्लाको उत्तरी भेगका यात्रुहरूको प्रमुख बासस्थानका रूपमा चिनिने रामेछापको ऐतिहासिक धोबी बजार पुनः जुरमुराउन थालेको छ। एक समय सुनसान बनेको यो बजार गाउँपालिकाको केन्द्र बनेपछि अहिले विस्तारै चहलपहलले भरिन थालेको हो।

साबिकको निर्वाचन क्षेत्र–१ को मुख्य केन्द्र मानिने धोबी बजार सडक सञ्जाल विस्तारसँगै एकाएक ओझेलमा परेको थियो। नयाँ सडक मार्ग खुलेपछि यात्रुहरू वैकल्पिक बाटो प्रयोग गर्न थाले, जसका कारण बजारको पुरानो रौनक हराउँदै गयो। तर, संघीय संरचना लागू भई लिखु तामाकोशी गाउँपालिकाको केन्द्र यहीँ कायम भएपछि फेरि बजारले जीवन पाउन थालेको छ।
स्थानीयका अनुसार, पहिले सैपु, दुरागाउँ, भुजी, प्रीति, गुप्तेश्वरदेखि बाम्ती र गुम्देलसम्मका बासिन्दाहरू सदरमुकाम रामेछाप वा पछि मन्थली पुग्न यही मार्ग प्रयोग गर्थे। लामो पैदल यात्राका क्रममा धोबी नै उनीहरूको बास बस्ने मुख्य थलो थियो। ‘ बिहान सबेरैदेखि बेलुकी ढिलोसम्म पनि डाँडामा मानिसहरूको भीड हुन्थ्यो ।
तर सदरमुकाम मन्थली सरेपछि खिम्ती–ठोसे हुँदै नयाँ सडक खुलेसँगै यात्रुहरूको बाटो परिवर्तन भयो। अन्यस्थानमा पनि गाउँसम्म सडक पुगेपछि मानिसहरू सिधै घर फर्किन थाले। यसले धोबी बजार क्रमशः सुनसान बन्दै गयो।
२०७२ सालको विनाशकारी भूकम्पले बजारका पुराना संरचना ध्वस्त पारेपछि स्थिति झन् दयनीय बन्यो। कतिपय घर भग्नावशेषमा परिणत भए, जसले बजारको अस्तित्व नै संकटमा परेको देखिन्थ्यो।
तर पछिल्ला वर्षहरूमा परिदृश्य फेरिएको छ। गाउँपालिकाको केन्द्र स्थापनासँगै प्रशासनिक गतिविधि बढे, सडक पिच भयो, र नयाँ पक्की घरहरू निर्माण हुन थाले। अहिले बजार क्षेत्रमा होटल, पसल र सेवामूलक व्यवसायहरू विस्तार हुँदै गएका छन्।
एक समय सुनसानजस्तै बनेको धोबी बजार अहिले फेरि जीवन्त बन्दै गएको छ। पूर्वाधार विकाससँगै यो ऐतिहासिक बजारले आगामी दिनमा थप आर्थिक र सामाजिक गति लिने स्थानीयको विश्वास छ।












प्रतिक्रिया दिनुहोस्