रामेछाप, वैशाख ९ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा वडास्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकाे छ।
वडा अध्यक्ष सन्तोष पौडेलका अनुसार प्रतियोगितामा रामेछाप, काभ्रे, दोलखा र ओखलढुंगाबाट १५ वटा भन्दा बढी टिम सहभागी हुनेछन्। उहाँले खेलमार्फत युवालाई स्वस्थ, अनुशासित र सक्रिय बनाउने तथा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

लिखु तामाकोशी गाउँपालिका–२ स्थित चण्डेश्वरी मावि खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ। प्रथम ‘वडा अध्यक्ष कप’ विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार, तृतीय हुने टोलीले ३० हजार र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सर्वर र सेटरलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ। वडा खेलकुद विकास समितिका अनुसार खेलकुदमार्फत स्थानीय पर्यटन प्रवर्द्धन गर्नुका साथै युवामा सकारात्मक ऊर्जा जगाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्