रामेछाप, वैशाख १३। राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले मन्थलीमा आकर्षक फोटो प्रदर्शनी आयोजना गरेको छ। जिल्लाको सांस्कृतिक, धार्मिक र पर्यटकीय पहिचानलाई उजागर गर्ने उद्देश्यसहित गरिएको प्रदर्शनीले स्थानीय स्तरमा उत्साह थपेको छ।
जिल्ला सदरमुकाम मन्थलीस्थित मन्थली नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा रामेछापका विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलका साथै स्थानीय संस्कार र जीवनशैली झल्किने तस्बिरहरू राखिएका थिए। प्रदर्शनीमा जिल्लाका आठवटै स्थानीय तहबाट कम्तीमा एक–एक फोटो समावेश गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका अध्यक्ष मिलन घिमिरेले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको बताउनुभयो। उहाँले यो समूहको तेस्रो फोटो प्रदर्शनी रहेको जानकारी दिँदै आगामी दिनमा अझ व्यापक बनाउने योजना रहेको उल्लेख गर्नुभयो।

यसैबीच, समूहले आफ्नो वार्षिक उत्सवसमेत मनाएको छ। मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले प्राविधिक चुनौतीहरू हुँदाहुँदै पनि पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले तथ्य र प्रमाणको रूपमा फोटोको महत्त्व उल्लेख गर्दै फोटोले इतिहास संरक्षण गर्ने सशक्त माध्यमको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्