जनता टाइम्स

२० बैशाख २०८३, आईतवार २०:४८

बीपी राजमार्ग अवरुद्ध हुँदा खाँडादेवी आउने दर्शनार्थी घटे, धार्मिक पर्यटन प्रभावित


रामेछाप, वैशाख २० । काठमाडौंबाट पूर्व जाने बीपी राजमार्ग बारम्बार अवरुद्ध हुँदा रामेछापको धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिर आउने दर्शनार्थी प्रभावित भएका छन्।

सडक अवरुद्ध हुँदा अन्य क्षेत्रका यात्रुहरूसँगै मन्दिर दर्शनका लागि आउने भक्तजनहरू समस्यामा परेका छन्। विशेषगरी काठमाडौं उपत्यकाबाट आउने दर्शनार्थीहरूलाई फर्किँदा बेलुका घर पुगिने हो कि होइन भन्ने त्रास हुने गरेको उनीहरूको भनाइ छ। अप्ठेरो सडक पार गरेर मन्दिर पुगेका भक्तजनहरू बाढीले सडक बगाउने डरले छिट्टै फर्कन बाध्य हुने गरेका छन्।

रामेछापको खाँडादेवी गाउँपालिका–७ र २ को सिमानामा रहेको उक्त मन्दिरमा सबैभन्दा बढी काठमाडौं उपत्यका र काभ्रेबाट दर्शनार्थी आउने गर्दछन्। तर मुख्य पहुँचमार्गका रूपमा रहेको बीपी राजमार्ग पटक–पटक अवरुद्ध हुँदा मन्दिर आउने भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा घटेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताउनुभयो। सडक सहज हुँदा हिउँदको समयमा मन्दिरमा दिनभरि दर्शनार्थीहरुकाे भिड हुने गरेकोमा अहिले फाट्टफुट्ट मात्र काठमाडौं र काभ्रेबाट गाडी आउने गरेको उहाँले जानकारी दिनुभयो ।

मन्दिरमा कार्यसिद्धिको कामना गर्दै भाकल गर्ने र इच्छा पूरा भएपछि पूजा तथा बलि चढाउन आउने परम्परा रहेको छ। देवीप्रतिको गहिरो आस्था र विश्वासका कारण टाढा-टाढाबाट भक्तजनहरू यहाँ पुग्ने गरेका छन्।

ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण मानिने यस मन्दिरको वर्णन देवीभागवत तथा शिवपुराणको हिमवत खण्डमा समेत पाइन्छ। किराँतकलादेखि नै पूजा हुँदै आएको प्रमाणहरू रहेको मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट हालसम्म सुरक्षित रहेको छ।

पृथ्वीनारायण शाहको पालादेखि दरबारबाट पूजा सामग्री आउने परम्परा रहे पनि विसं २००९ सालपछि उक्त सहयोग बन्द भएको थियो। त्यसपछि पुजारीहरूले सञ्चालन गर्दै आएको पूजा तथा संरक्षण कार्य हाल खाँडादेवी विकास कोषले व्यवस्थापन गर्दै आएको छ।