जनता टाइम्स

२२ बैशाख २०८३, मंगलवार २१:१८

शिवपुरी जंगलमा गाडिएको अवस्थामा महिलाको शव फेला, हत्या आरोपमा एक पक्राउ


काठमाडौं, वैशाख २२  । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। टोखा नगरपालिका–१ अन्तर्गत पर्ने शिवपुरी जंगल क्षेत्रमा भेटिएको शव तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार तिवारी वैशाख ११ गतेदेखि हराइरहेकी थिइन्। खोजतलासका क्रममा उनको शव जंगलभित्र गाडिएको अवस्थामा फेला परेको हो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टोखा निवासी अनिल डंगोललाई पक्राउ गरेको छ। उहाँमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा तिवारी र डंगोलबीच करिब एक वर्षदेखि चिनजान तथा सम्पर्क रहेको खुलेको छ। सोही क्रममा विवाद उत्पन्न भई शिवपुरी जंगलमै हत्या गरिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।