जनता टाइम्स

४ जेष्ठ २०८३, सोमबार ०७:१९

जंगली भ्याकुर सेवन गर्दा एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर


बागलुङ, जेठ  ४ । बागलुङको बडिगाड गाउँपालिकामा जंगली भ्याकुर सेवन गर्दा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धर का अनुसार बडिगाड गाउँपालिका–५ दाग घर भई खार बस्ने ७२ वर्षीया फिरमकुमारी घिमिरेको ज्यान गएको हो।

प्रहरीका अनुसार जंगलबाट ल्याइएको भ्याकुर सेवन गरेपछि अन्य आठ जना बिरामी परेका छन्। बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको बताइएको छ।

बुर्तिबाङ जिल्ला अस्पतालकी सूचना अधिकारी पार्वती अर्याल ले सबै बिरामीको उपचार भइरहेको र केहीमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने तथा वान्ता हुने लक्षण देखिएको जानकारी दिनुभयो।

स्थानीयका अनुसार उनीहरू आइतबार निगुरो टिप्न जंगल गएका थिए। सोही क्रममा ल्याइएको जंगली भ्याकुर खाजाका रूपमा सेवन गरेपछि स्वास्थ्य समस्या देखिएको बताइएको छ।