रामेछाप, जेठ ४ । रामेछापको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको खाँडादेवी मन्दिर पुग्ने मूल सडक निर्माण कार्य यही वर्षभित्र सम्पन्न हुने भएको छ ।
वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्थली–गाल्पा सडक खण्डको माकादुमदेखि खाँडादेवी मन्दिरसम्म जाने सडक स्तरोन्नति कार्य अघि बढाइएको हो । बिकटमा रहेको धार्मिकस्थलसम्म सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित सडक निर्माणलाई तीव्रता दिइएको जनाइएको छ ।
उक्त सडक योजनाका लागि कुल ७७ लाख रुपैयाँ विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि ३८ लाख ५० हजार रुपैयाँ छुट्याइएको थियो । बाँकी ३८ लाख ५० हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि सुनिश्चित भइसकेको बताइएको छ । करिब ३ किलोमिटर सडक स्तरोन्नतिपछि खाँडादेवी मन्दिरसम्मको यात्रा थप सहज हुने छ ।
गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्रदेश समपूरक योजना अन्तर्गत सो सडकको थप स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सडक विस्तारसँगै खाँडादेवी क्षेत्रको धार्मिक तथा पर्यटन सम्भावनालाई थप उजागर गर्ने लक्ष्य राखिएको छ ।
रामेछापको पहिचानसँग जोडिएको खाँडादेवी मन्दिरलाई ऐतिहासिक एवं शक्तिपीठका रूपमा लिइन्छ । स्थानीय विश्वासअनुसार यो मन्दिर किराँतकालीन सभ्यता र संस्कृतिसँग जोडिएको प्राचीन धार्मिक धरोहर हो । यहाँ देवीले दैत्यको वध गरी खाँडो गाडेकोले मन्दिरको नाम ‘खाँडादेवी’ रहन गएको जनविश्वास छ ।
विशेष गरी बडादशैँ, चैतेदशैँ तथा विभिन्न धार्मिक पर्वमा यहाँ ठुलो सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् । अघि पछि पनि वर्ष भरि नै नियमित रूपमा दर्शनार्थीहरु मन्दिरमा जाने गर्दछन् । सडकको कमजोर अवस्थाका कारण वर्षौँदेखि श्रद्धालु र पर्यटकले समस्या झेल्दै आएका छन् । सडक स्तरोन्नतिको काम अघि बढेसँगै स्थानीयवासीले धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार विस्तार तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरेका छन् ।
सडक सहज भएपछि खाँडादेवी मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई रामेछापको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापित हुने विश्वास गरिएको छ । अहिले पनि मन्दिरमा काठमाडाैं उपत्यकासँगै देशभरका दर्शनार्थीहरु आउने गर्दछन् ।













प्रतिक्रिया दिनुहोस्