जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १९:२३

त्यो दृष्यले निकै भावुक बन्नुभयो प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार अपरान्ह बसेको एउटा बैठकमा निकै भावुक बन्नुभयो । निकै ठुलो पीडालाई पनि सहज रुपमा पचाउने प्रधानमन्त्री ओलीको बोली दुई मन्त्रीसहितको बैठकमा एकाएक लरबरायो । आँखाहरु एकाएक रसाउन थाल्यो । प्रधानमन्त्री ओलीलाई यसरी पीडा दिने घटना थियो आइतवार सिन्धुपाल्चोकमा भएको दुर्घटनाको भयावह दृष्य ।

गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बशन्तकुमार नेम्वाङसहित दुवै मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीमा आइतवारको त्यो दृष्य सम्झनुभयो । अनि निकै भावुक बन्नुभयो । ‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिसे भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो (आइवतार) खाना खान र सुत्न पनि सकिन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरोकारवाला सवै निकायका पदाधिकारीलाई बोलाएर गरिएको बैठकमा यी भनाईहरु राख्दा प्रधानमन्त्री ओली निकै भावुक देखिनुभयो । ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ । यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्यो,’ प्रधानमन्त्री ओलीको भनाई थियो । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह र भौतिक मन्त्रालयका पदाधिकारीलाई आज आफ्नै सरकारी निवासमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।

गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, महानगरीय ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्तरुपमा निर्देशन दिनुभएको हो । पछिल्लो समय बढेको दुर्घटनाका कारण निकै भावुक रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी सडक नियम पालना गराउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकलाई तालीम, लाइसेन्सको पुनः परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिनुभएको छ । ‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा दोहोरो सवारी नचल्ने संरचना स्वीकृत नगर्नुस, तीब्र गतिका सवारीलाई रोक्ने गरी संरचनाको अनिवार्य व्यवस्था गर्नुस, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस ।’