काठमाडौं, १९ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिलाई लिएर जारी विवादबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लु गुप्ताको सामाजिक सञ्जाल पोस्ट पनि विवादमा परेको छ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताले सिरहा नगरपालिका–२० गदियानीस्थित जंगे पिलरको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको भनाइ सही रहेको दाबी गरेका थिए। उनले सीमा स्तम्भ नेपाली नागरिक ज्ञानी मुखियाको आँगनमै रहेको उल्लेख गर्दै सीमा समस्या दुवैतर्फ रहेको बताएका थिए।
तर स्थानीय पत्रकार तथा सीमाक्षेत्रका जानकारहरूले सांसद गुप्ताको दाबी तथ्यविपरीत रहेको बताएका छन्। उनीहरूका अनुसार गदियानीस्थित जंगे पिलर नजिक घर बनाएका ज्ञानी मुखिया नेपाली नभई भारतीय नागरिक हुन् र उनको घर दसगजा क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएको हो।
स्थानीय पत्रकार शम्भु यादवका अनुसार उक्त क्षेत्रमा भारतीय नागरिकहरूले वर्षौंदेखि दसगजा क्षेत्रमा घर, टहरा र खेतीपाती गर्दै आएका छन्। सीमा क्षेत्रको अवस्थाबारे २०७६ सालमै प्रकाशित समाचारमा पनि गदियानीस्थित जंगे पिलर भारतीय नागरिकको घरआँगनमै रहेको तथ्य उल्लेख गरिएको थियो।
स्थानीय स्रोतहरूका अनुसार सिरहाको सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिकले दसगजा क्षेत्र अतिक्रमण गरी खेतीपाती तथा बसोबास गर्दै आएको अवस्था छ। तर यसलाई राज्यस्तरको सीमा अतिक्रमण वा भूभाग कब्जासँग तुलना गर्न नमिल्ने सीमाविज्ञहरूको धारणा छ।
सशस्त्र प्रहरी र स्थानीय प्रशासनका अनुसार सिरहाका विभिन्न स्थानमा दसगजा क्षेत्रमा भएको अतिक्रमण हटाउन तथा खेतीपाती रोक्न भारतीय पक्षसँग समन्वय भइरहेको छ। सीमा स्तम्भ मर्मत तथा संरक्षणका काम पनि अघि बढाइएको जनाइएको छ।
प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिको बचाउ गर्ने क्रममा सांसद गुप्ताले भारतीय नागरिकलाई नेपालीका रूपमा प्रस्तुत गरेको आरोप लागेपछि सीमा विवादबारे बहस झन् चर्किएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्टीकरण र क्षमायाचनाको माग गरिरहेका बेला यस विषयले थप राजनीतिक तरंग सिर्जना गरेको छ।













प्रतिक्रिया दिनुहोस्