जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार ०७:४४

संसद्मा शक्तिको दुरुपयोग भएको छ, न्यायपालिकाले हस्तक्षेप गर्नुपर्छ : गगन थापा


लुम्बिनी, जेठ १९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्भित्र शक्तिको चरम दुरुपयोग भएको भन्दै न्यायपालिकाले आवश्यक हस्तक्षेप गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसद्मा विरोधका बाबजुद नियमावली जबरजस्ती पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो।

उहाँका अनुसार संसद्भित्र भएको यस्तो अभ्यास संविधान र लोकतान्त्रिक मूल्यविपरीत रहेको छ। उहाँले भन्नुभयो, “विरोध भए पनि जबरजस्ती नियमावली पारित गरियो। अब यो विषय अदालतमा जाने विश्वास छ, जानुपर्छ पनि।”

थापाज्यूले कार्यपालिका र व्यवस्थापिकाले संविधान र कानुनले दिएको अधिकार क्षेत्र मिच्न नपाउने उल्लेख गर्दै त्यस्तो अवस्थामा न्यायपालिकाले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो।

“संविधान र प्रचलित कानुनभन्दा माथि कोही पनि हुन सक्दैन,” उहाँले भन्नुभयो।

उहाँको यो अभिव्यक्ति पछिल्लो समय संसद्‌मा देखिएको राजनीतिक तनाव र निर्णय प्रक्रियाप्रति उठिरहेका बहसबीच आएको हो।