जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार ०८:००

विपक्षीको अवरोधबीच आज पनि प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल सुरु गर्ने तयारी


काठमाडौं, जेठ १९ । प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर जारी राजनीतिक विवादका बीच प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्ने कार्यतालिका तय गरिएको छ। तर विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक सुचारु रूपमा सञ्चालन हुने वा नहुने विषय भने अझै अन्योलमै रहेको छ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको छ। कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

संसद सचिवालयले बजेटमाथिको सामान्य छलफल आजदेखि प्रारम्भ गर्ने तयारी गरेको भए पनि पछिल्ला केही दिनदेखि विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। साथै, संसद सञ्चालनका क्रममा सभामुखले विपक्षीको आवाज दबाउने गरी बैठक सञ्चालन गरेको आरोप पनि उनीहरूले लगाएका छन्।

यही विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर नाराबाजी गर्दै संसद अवरुद्ध गरिरहेका छन्। सत्तापक्ष र विपक्षीबीच सहमतिको प्रयास भए पनि अहिलेसम्म ठोस निष्कर्ष ननिस्किएकाले आजको बैठक पनि प्रभावित हुन सक्ने सम्भावना रहेको छ।

सरकार भने बजेटमाथिको छलफल समयमै अघि बढाउने पक्षमा रहेको छ। बजेट पारित गर्ने संवैधानिक समयसीमालाई ध्यानमा राख्दै सरकारले संसदको अवरोध अन्त्य गर्न विपक्षीसँग संवाद जारी राखेको जनाएको छ।

आजको बैठकमा विपक्षी दलहरूले आफ्नो अडान कायम राखे प्रतिनिधिसभाको कार्यसूची प्रभावित हुन सक्ने देखिएको छ भने सहमति जुटे बजेटमाथिको बहुप्रतीक्षित छलफल औपचारिक रूपमा सुरु हुनेछ।