जनता टाइम्स

२ असार २०८३, मंगलवार १५:३५

‘कानुन बनाउनेले नै कानुन मिचे’ भन्दै सृष्टी भट्टराईमाथि कारबाहीको माग


काठमाडौं, असार  २  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टी भट्टराई को एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उहाँमाथि ट्राफिक नियम उल्लंघनको आरोप लगाउँदै कारबाहीको माग उठेको छ।

भाइरल भिडिओमा सांसद भट्टराई गुडिरहेको गाडीको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरिरहनुभएको देखिन्छ। गत मार्च ५ मा इन्स्टाग्राममा अपलोड गरिएको उक्त भिडिओ पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको हो।

उक्त भिडिओमा अंग्रेजी गीत समावेश गरिएको छ भने क्याप्सनमा उहाँले “निर्दोषता फेरि फुलोस्, जसलाई कसैले कुचल्न नसकोस्। र न्याय यस्तो बलियो बनोस् कि फेरि कहिल्यै मानवताले हार नमानोस्” भन्ने सन्देश लेख्नुभएको छ।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ट्राफिक नियम उल्लंघन भएको दाबी गर्दै सांसद भट्टराईमाथि कारबाही गर्न माग गरेका छन्। धेरै प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताएका छन्।

यसअघि ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङ माथि पनि कारबाही भएको उदाहरण प्रस्तुत गर्दै सामाजिक सञ्जालमा सांसद भट्टराईमाथि समान व्यवहार हुनुपर्ने आवाज उठिरहेको छ।

कानुन निर्माण गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिले नै नियमको पालना गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। यद्यपि, यस विषयमा सांसद भट्टराई वा सम्बन्धित निकायबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।