जनता टाइम्स

५ असार २०८३, शुक्रबार १२:३२

कोशी प्रदेशका मन्त्रीको सरकारी निवासमा खानतलासीबारे छानविन हाेस् : राजेन्द्र राई


काठमाडौं, असार ५ । नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले गरेको भनिएको खानतलासीप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मन्त्री पराजुली आफ्नो गृहजिल्ला सङ्खुवासभामा रहनुभएको समयमा राति उहाँको सरकारी क्वार्टरमा प्रहरीले खानतलासी गरेको जानकारी आफूले पाएको बताउनुभयो। ‘कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा उहाँ नहुँदा राति प्रहरीले खानतलासी गरेछ। नयाँ सरकारबाट यस्तो किन हुँदै छ? यो कुरा मैले बुझ्न सकिरहेको छैन,’ उहाँले भन्नुभयो।

सांसद राईले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र कुन आधारमा खानतलासी गरिएको हो भन्ने विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने धारणा राख्नुभयो। उहाँले घटनाबारे निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो।