जनता टाइम्स

७ असार २०८३, आईतवार २२:०४

गाउँप्रतिको माया बन्यो विकासको शक्ति : चिसापानीमा स्थानीयको साथले बन्दैछ २० लाखको भलिबल मैदान


रामेछाप, असार ७ । गाउँ छाडेर रोजगारी, अध्ययन र व्यवसायका लागि सहर तथा विदेश पुगेका युवाहरू गाउँसँग टाढिएका छन् भन्ने आम बुझाइलाई रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीयले गलत सावित गरेका छन्। गाउँप्रतिको माया र अपनत्वलाई व्यवहारमा उतार्दै उनीहरूले आफ्नै जन्मथलोमा निर्माण भइरहेको प्याराफिटसहितको भलिबल खेल मैदानका लागि उल्लेखनीय आर्थिक सहयोग जुटाएका छन्।

स्थानीय योजना निर्माणमा नागरिक सहभागितालाई केन्द्रमा राखेर वडा कार्यालयले अघि बढाएको खेल मैदान निर्माण अभियानमा गाउँभित्रका बासिन्दामात्र होइन, काठमाडौंदेखि विदेशसम्म रहेका चिसापानीवासीको समेत उत्साहजनक साथ प्राप्त भएको हो।

वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार करिब २० लाख रुपैयाँ लागत अनुमान गरिएको प्याराफिटसहितको भलिबल खेल मैदान निर्माणका लागि वडा कार्यालयले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। बाँकी रकम स्थानीयको श्रमदान र आर्थिक सहभागिताबाट जुटाउने लक्ष्यसहित अभियान सुरु गरिएको थियो।

उहाँका अनुसार अभियानले अपेक्षाभन्दा राम्रो साथ पाएको छ। काठमाडौं तथा विदेशमा रहेका चिसापानीवासीले हालसम्म करिब १० लाख रुपैयाँ संकलन गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेका छन्। गाउँमै रहेका स्थानीयले पनि श्रमदान गर्दै निर्माण कार्यलाई तीव्रता दिएका छन्।

चिसापानी जनकल्याण समाज काठमाडौंका अध्यक्ष राजेन्द्र श्रेष्ठले चिसापानीसँग सम्बन्धित विभिन्न सामाजिक संस्थामार्फत १० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जानकारी दिनुभयो। उहाँका अनुसार यो सहयोग केवल आर्थिक योगदान मात्र नभई जन्मथलोप्रतिको उत्तरदायित्व र भावनात्मक सम्बन्धको प्रतीक पनि हो।

काठमाडौंमा बसोबास गर्दै आएका चिसापानीका युवा प्रकाश श्रेष्ठले खेलकुदको विकाससँगै गाउँको आर्थिक तथा सामाजिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको बताउनुभयो।

उहाँले गाउँ छाडेर बाहिर बस्नुपरे पनि मन सधैँ जन्मथलिमै रहने उल्लेख गर्दै गाउँको विकासमा आफ्नो दायित्व पूरा गर्न सबै चिसापानीवासी एकजुट भएको बताउनुभयो।

खेल मैदान निर्माणका लागि संकलित रकम हस्तान्तरण कार्यक्रममा सहभागी स्थानीय तथा सहयोगदाताहरूले गाउँको विकाससँग जोडिएका यस्ता रचनात्मक अभियानमा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उहाँहरूले सामूहिक सहभागिताबाट सम्पन्न हुने विकासका कामले गाउँसँगको सम्बन्ध अझ प्रगाढ बनाउने, नयाँ पुस्तामा जन्मथलोप्रतिको जिम्मेवारीको भावना विकास गर्ने र समुदायलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे।

स्थानीय तह, समुदाय र प्रवासमा रहेका गाउँलेबीचको सहकार्यको यो उदाहरणले विकासका लागि सरकारी बजेट मात्रै पर्याप्त हुँदैन, साझा भावना, विश्वास र सहकार्य भए असम्भव देखिएका योजना पनि सफल बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ।

चिसापानीमा निर्माणाधीन यो भलिबल खेल मैदान अब केवल खेलकुद पूर्वाधार मात्र रहने छैन, यो गाउँप्रतिको माया, एकता, श्रमदान र सामूहिक उत्तरदायित्वको जीवित प्रतीकका रूपमा पनि स्थापित हुने विश्वास गरिएको छ।