जनता टाइम्स

२ पुष २०७६, बुधबार १७:२९

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्झौता–पत्रमा हस्ताक्षर


काठमाडौं, पुस २ । काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँ महानगरपालिकाका तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले आज नेपाली सेनाको मुख्यालयमा एक कार्यक्रमबीच सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेयर शाक्यले नागरिकलाई सेवा प्रवाह गर्न काठमाडौं महानगरपालिका प्रयासरत रहेको भन्दै यो त्यसैको एक कदम भएको बताउनुभयो ।

‘काठमाडौँ महानगरपालिका सकेसम्म आफै अस्पताल सञ्चालन गर्ने योजनामा थियो ।तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरबासीलाई आवश्यक सेवा दिने प्रयास गर्दै आएका छौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘केही पहिला मात्रै हामीले कान्तिवाल अस्पताललाई अक्सिजन प्लान्ट राख्ने सन्दर्भमा सम्झौता गरेका थियौँ । त्यो खरिद प्रक्रियाका लागि अघि बढिसकेको छ । यो पटक नेपाली सेनासँग हामीले हेमोडाइलासिसको लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्ने विषयमा सम्झौता गरेका छौँ । नेपाली सेनासँग स्वास्थ्य क्षेत्रका लागि गरेको यो प्रहिलो प्रयास हो ।’

मेयर शाक्यले महानगरको सहयोगपछि सहज र स्तरीय सेवामा सेनाले थप सफलता प्राप्त गर्ने अपेक्षा गर्नुभयो । ‘हामीले यस अघि पनि सेनासँग सहकार्य अघि बढाएका छौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘सहकार्य अझै अघि बढ्नेमा हामी आशावादी छौँ ।’ मेयर शाक्यले नेपाली सेनाले इतिहासमा पहिलो पटक भवन निर्माणका लागि महानगरपालिकाबाट नक्शापास गराएको भन्दै यसले सेना थप उत्तरदायी बनेको बताउनुभयो ।

नेपाली सेनाका प्रमुख थापाले पनि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा थप उत्साहित भएको बताउनुभयो । ‘हामीले यस अघि पनि महानगरपालिकासँग केही सहकार्य गरेका छौँ,’ प्रधान सेनतापति थापाले भन्नुभयो, ‘विगतदेखि नै नागरिक–सैनिक सम्वन्धलाई थप उचो बनाउने गरी सेना अघि बढिरहेको छ । महानगरपालिकाको हरियाली प्रद्र्धन गर्ने, धुलो नियन्त्रण गर्ने, वातावरण स्वच्छ राख्ने योजनामा नेपाली सेनाको पनि सहयोग निरन्तर रहने छ ।’ प्रधान सेनापति थापाले सैनिक अस्पतालबाट विगतमा नेपाली सेना र आश्रित परिवारले मात्रै सेवा पाउने गरेको भन्दै आम जनताले पनि त्यहाँबाट सेवा प्राप्त गर्ने वातावरण बनोस् भनी यस्ता खाले सम्झौता गरेको बताउनुभयो ।

सम्झौतापत्रमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने महानगरबासीहरु र काठमाडौँ महानगरपालिका कार्यालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवामा सहज र सुलभ पहुँच अभिबृद्धि गर्ने उल्लेख गरिएको छ । त्यसैगरी सम्झौतापत्रमा नागरिक–सेना सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाली सेनाको विरेन्द्र सैनिक अस्पताल मार्फत विभिन्न किसिमका रोगहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा नियमित स्वास्थ्य परीक्षण जस्ता कार्यहरु गरिने पनि उल्ल्ेख छ । जेष्ठ नागरिकहरुको लागि ओ.पी.डी. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा आदि सञ्चालन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने कुरालाई पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

‘हेमोडाईलासिसको लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक भएमा त्यसको योजना सहितको खाका र सो कार्य गर्न लाग्ने रकम दोस्रो पक्ष (नेपाली सेना) बाट माग भई आएपछि कार्यक्रम अनुदानमा प्रथम पक्ष (महानगरपालिका)ले दोस्रो पक्षको खातामा उपलब्ध गराइदिनु पर्नेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘हाल प्रथम पक्षको बजेटमा विनियोजन ३ करोडको ५० प्रतिशतले हुन आउने रकम रु.१ करोड ५० लाख सुरुमा र अन्तिम किस्ता खरिद प्रक्रिया सम्पन्न भएपछि खरिद सम्झौता अनुरुपको बाँकी रकम प्रथम पक्षको अनुदानबाट बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाको सहयोगमा संचालित भनी उल्लेख गर्नुपर्नेछ । ’

सम्झौतापत्रमा तत्कालका लागि नेपाली सेना अन्तर्गतको वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवाको शुरुवात गर्ने र भौतिक पूर्वाधार लगायतका स्रोत साधन अभिबृद्धि भएपछि सेवा विस्तार गर्दै लगिने उल्लेख छ । त्यसैगरी सम्झौता कार्यान्वयन गर्ने क्रममा मृगौला रोग तथा अन्य रोगहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा महानगरबासीहरु, सञ्चार माध्यम, सम्बन्धित संघ–संस्थाहरुमा सेवा सम्बन्धी आवश्यक सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दुबै पक्षको हुनेछ । यस सम्झौताको अवधी सम्झौता भएको मितिले पाँच बर्षको हुने उल्ल्ेख छ । दुबै पक्षको आपसी समझदारीमा भने सम्झौताको म्याद थप हुन सक्ने पनि उल्लेख छ । ।