काठमाडौं, असार २१ । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा सशस्त्र प्रहरीका एक इन्स्पेक्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विद्यालयकी लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र लिला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवै जनालाई शनिबार पक्राउ गरिएको हो।
उहाँका अनुसार पक्राउ परेकामाथि आइतबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको निष्कर्षसहित कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार विद्यालयको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रुपैयाँ हिनामिना गरिएको आशंकामा अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा लेखा प्रमुख गुरुङलाई घटनाको मुख्य योजनाकारका रूपमा हेरिएको छ।
गुरुङ विगत छ वर्षदेखि उक्त विद्यालयमा लेखा प्रमुखका रूपमा कार्यरत रहँदै आउनुभएको थियो। घटनाबारे सशस्त्र प्रहरी प्रधान कार्यालयले प्रारम्भिक छानबिन गरेपछि दोषी देखिएका व्यक्तिमाथि थप अनुसन्धान र मुद्दा चलाउन प्रहरीलाई जिम्मा दिएको जनाएको छ।
यस प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको बताइएको छ।
प्रहरीले आर्थिक हिनामिनाको वास्तविक परिमाण र अन्य सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्