जनता टाइम्स

२२ असार २०८३, सोमबार ०८:०७

अस्ट्रेलियालाई सातौँ पटक महिला टी– २० विश्वकपको उपाधि


काठमाडौं,  असार २२ ।  बेथ मुनी र फोएबे लिचफिल्डको विष्फोटक ब्याटिङको मद्दतले अस्ट्रेलियाले गएराति घरेलु टोली इंग्ल्यान्डलाई फाइनलमा ७ विकेटले पराजित गर्दै सातौँ पटक महिला टी– २० विश्वकपको उपाधि जितेको छ। लर्ड्स क्रिकेट मैदानमा दर्शकहरूले भरिभराउ रंगशालाबीच अस्ट्रेलियाले इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्यलाई १७ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

करिब १८ महिनाअघि इंग्ल्यान्डलाई एसेज सिरिजमा लज्जास्पद हार चखाएको अस्ट्रेलियाले यस पटक पनि फाइनलमा पूर्ण रूपमा एकपक्षीय दबाब सिर्जना गर्‍यो। प्रतियोगिताभरि अपराजित रहेको अस्ट्रेलियाका लागि प्लेयर अफ दि टूर्नामेन्ट घोषित बेथ मुनीले ४९ बलमा ६४ रनको उत्कृष्ट इनिङ खेलिन्।

त्यस्तै, विष्फोटक ब्याटिङ गरेकी लिचफिल्डले दुई छक्कासहित ३५ बलमा ४८ रन जोडिन्। दोस्रो विकेटका लागि यी दुईबीच भएको शतकीय साझेदारीले इंग्ल्यान्डको जितको सबै सम्भावनालाई समाप्त पारिदिएको थियो।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रनको सामान्य योगफल खडा गरेको थियो। इंग्ल्यान्डको सुरुवात निकै सुस्त रह्यो, जहाँ पहिलो ६ ओभरको पावरप्लेमा टोलीले ३९ रन जोड्दा २ विकेट गुमाइसकेको थियो। कप्तान न्याट सिभर–ब्रन्टले ५३ बलमा ५८ रन र फ्रेया केम्पले २८ बलमा ४४ रन जोड्दै पाँचौँ विकेटका लागि अविजित ८० रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए। अस्ट्रेलियाका लागि किम गार्थले ४ ओभरमा मात्र २० रन दिएर १ विकेट लिइन् भने लुसी ह्यामिल्टन र सोफी मोलिन्युक्सले पनि कसिलो बलिङ गरे।लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले पहिलो ओभरमै ओपनर जर्जिया भोललाई ९ रनमा गुमाए पनि मुनी र लिचफिल्डले पहिलो १० ओभरमै टोलीको स्कोर ९८ रन पुर्‍याएर जित सुनिश्चित गरिसकेका थिए।