काठमाडौं, असार २२। नगरकोटस्थित खानेपानी तालिम केन्द्रको होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारहरू खाना वितरण बन्द हुने जानकारी पाएपछि सेन्टर छाड्न बाध्य भएका छन्। सोमबार बाँकी रहेका सबै परिवार बाहिरिएसँगै नगरकोटको होल्डिङ सेन्टर पूर्ण रूपमा खाली भएको छ।

२९ वर्षीया सुशीला राईले दुई वर्षका छोरालाई भोकै राख्न नसक्ने अवस्था आएपछि सेन्टर छाड्नुपरेको बताउनुभयो। उहाँका अनुसार सेन्टरमा सुरुमा २१ परिवार राखिएको थियो। सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँ लिएर केही परिवार यसअघि नै बाहिरिसकेका थिए भने जाने अन्य विकल्प नभएका परिवार पनि खाना बन्द हुने भएपछि निस्किन बाध्य भए।
सुकुम्बासीहरू सामूहिक रूपमा बाहिरिने निर्णय गरेपछि बागमती सभ्यता एकीकृत विकास समितिले उनीहरूका लागि बसको व्यवस्था गरेको थियो। केही परिवार काठमाडौं फर्किएका छन् भने केही आफन्तकहाँ अस्थायी रूपमा बस्न थालेका छन्।
५९ वर्षीया मीना दर्नालले सरकारले आफ्ना माग सम्बोधन नगरेपछि होल्डिङ सेन्टरमा बसिरहनुको अर्थ नरहेको बताउनुभयो। यस्तै, गंगा विकले पाँच वर्षका नातिको भविष्यको चिन्ताले सेन्टर छाड्नुपरेको उल्लेख गर्दै अहिले पुरानै बसोबास क्षेत्रतिर कोठा खोजिरहेको जानकारी दिनुभयो।
यसअघि असार ८ गते बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो। पटक–पटक म्याद थपिए पनि सुकुम्बासीहरूको माग सम्बोधन नभएपछि अन्ततः उनीहरू बाहिरिन बाध्य भएका हुन्।
बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले नगरकोट र बोडेस्थित दुवै होल्डिङ सेन्टर पूर्ण रूपमा खाली भइसकेको पुष्टि गर्दै अब थप व्यवस्थापनका विषयमा आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो।












प्रतिक्रिया दिनुहोस्