जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १६:३८

विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चको फैसलापछि पार्टी मिल्छ : देउवा


काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ।

शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताउँदै सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकताबद्ध हुने दाबी गर्नुभएको हो।

उहाँले भन्नुभयो, “सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ। विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन।”

विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दिएको उल्लेख गर्दै देउवाले पुनरवलोकनको टुंगो नलागेसम्म धेरै बोल्न नहुने बताउनुभयो। सर्वोच्चबाट न्याय मिल्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसपछि पार्टी एकता हुने दाबी गर्नुभयो।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रका लागि आवश्यक

अर्को प्रसंगमा देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अत्यावश्यक रहेको बताउनुभयो।

उहाँले पत्रकारिता कुनै पक्षको समर्थन वा विरोधमा नभई निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो। “व्यक्तिपूजा होइन। प्रेसले पनि निष्पक्ष रूपले हेर्ने हो। प्रेस स्वतन्त्रता हरेक लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो।

सुदूरपश्चिम जाने इच्छा

पाँच महिनापछि स्वदेश फर्किनुभएका देउवाले सुदूरपश्चिम जाने इच्छा पनि व्यक्त गर्नुभएको छ।

उहाँले विशेषगरी आफ्नो गृहजिल्ला डडेलधुरा पुगेर त्यहाँका दाजुभाइसँग भेटघाट गर्ने र देवीदेवताका दर्शन गर्ने इच्छा रहेको बताउनुभयो।

सुदूरपश्चिमले आफूलाई धेरै माया र साथ दिएको उल्लेख गर्दै देउवाले प्रदेशका लागि गर्नुपर्ने जति काम गर्न नसकेको स्वीकार गर्नुभयो।

उहाँले डडेलधुरामा विमानस्थल निर्माणको माग हुँदै आएको उल्लेख गर्दै बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।