काठमाडौं, साउन ३० । भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।
समारोहमा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट गरिएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झण्डा फहराउनुभएको थियो।
समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।
११ मृत सैनिकका परिवारलाई बीमा रकम
कार्यक्रमका अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र सेनामा सेवा गर्दागर्दै मृत्यु भएका ११ जना सैनिकका विधवा तथा निकटतम हकदारलाई सम्मान गर्नुभएको थियो।
उहाँहरूलाई आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको बीमा रकमका चेक हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।
शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान
स्वतन्त्रता दिवसका अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई समेत पुरस्कार प्रदान गरिएको छ।
‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’, अन्तरविद्यालय क्विज तथा ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ।
त्यस्तै, नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा दूतावासले गरेको छ।
समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँग आबद्ध शिक्षक तथा विद्यार्थीले सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए।













प्रतिक्रिया दिनुहोस्