जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १६:५७

पछिल्लो २४ घण्टामा विपद्का घटनामा १३ जनाको मृत्यु, ५ बेपत्ता


काठमाडौं, साउन ३० नेपालमा पछिल्लो २४ घण्टामा मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक प्रकोपका घटनामा परी १३ जनाको मृत्यु भएको छ। पाँच जना अझै बेपत्ता छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। ती घटनामा ४३ जना घाइते भएका छन्।

विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। घटनाबाट करिब ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी परिचालन गरिएको छ। उद्धार टोलीले दुई जनालाई सकुशल उद्धार गरेको प्राधिकरणले जनाएको छ।

लगातारको वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्का घटना बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।