जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १७:००

बाँदरले आतंकित बनाएको भन्दै स्वयम्भूवासीले महानगर गुहारे


काठमाडौं, ३० साउन । स्वयम्भू क्षेत्रमा बाँदरको संख्या बढेर घरभित्रै प्रवेश गर्ने र क्षति पुर्‍याउने क्रम बढेको भन्दै स्थानीयवासीले काठमाडौं महानगरपालिकासँग समस्या समाधानका लागि आग्रह गरेका छन्।

शनिबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसँग भेट गर्दै स्थानीयले बाँदरको उचित व्यवस्थापन गर्न माग गरेका हुन्।

स्थानीयका अनुसार हुलका हुल बाँदर घरभित्र पस्ने गरेका छन्। घरमा पसेपछि सामान तोडफोड गरी ५ देखि १० हजार रुपैयाँसम्मको क्षति पुर्‍याउने गरेको उनीहरूको गुनासो छ। घरबाट फलफूलको गन्ध आएमा बाँदर थप आक्रामक हुने गरेको स्थानीयले बताएका छन्।

स्थानीय श्याम प्रधानका अनुसार अहिले स्वयम्भू क्षेत्रमा करिब १० समूहमा गरी १ हजार ७ सय बाँदर रहेको अनुमान छ। उनका अनुसार कोरोना महामारीताका २०७५/७६ मा करिब १ हजार २० वटा बाँदर रहेकामा २०८०/८१ सम्ममा यो संख्या बढेर १ हजार १७९ पुगेको थियो।

पछिल्लो समय बाँदरको संख्या तीव्र रूपमा बढेको प्रधानले बताउनुभयो।

स्थानीयको गुनासो सुनेपछि कार्यवाहक मेयर डंगोलले बाँदर व्यवस्थापनका लागि तत्काल गर्न सकिने उपायबारे वन्यजन्तु विज्ञ तथा सम्बन्धित सरोकारवालासँग छलफल गरेर आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको छ।