जाजरकोट, साउन ३१ । जाजरकोटको भेरी नगरपालिका–२ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना अझै पुरिएको अवस्थामा रहेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
पहिरोमा पुरिएका ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परी ७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।
लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
बाढीपहिरोका कारण भेरी नगरपालिकाका रिसाङ, स्याँला, माथिल्लो थाप्ले, ठाँटी, पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्ती उच्च जोखिममा परेका छन्।
पहिरोका कारण ठाउँ–ठाउँमा सडक भत्किएर अवरुद्ध हुँदा उद्धार कार्यसमेत प्रभावित भएको छ।
जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा स्थानबाट सुरक्षित ठाउँमा जान र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्