जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०८:१९

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो


काठमाडौं, साउन ३१। चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा पहिरो खसेर गएरातिदेखि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।

मुग्लिन प्रहरीले रुखसहितको सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको जनाएको छ। बिहान सवा ६ बजेदेखि पाँचवटा डोजर प्रयोग गरी पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो।

सडक खुलेसँगै यसअघि रोकिएका काठमाडौं भित्रिने तथा काठमाडौंबाट छुटेका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेका छन्।

मुग्लिन–काठमाडौं सडकखण्ड संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो। यस सडकखण्डमा पटक–पटक पहिरो खस्दा सवारीसाधन तथा यात्रु प्रभावित हुँदै आएका छन्।

पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सवारीसाधन चलाउन प्रहरीले आग्रह गरेको छ।