जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०८:२३

रोल्पामा पहिरो : पाँच दिनमा १७ जनाको मृत्यु, एक जना अझै बेपत्ता


रोल्पा, साउन ३१ । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ।

लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरो खस्दा घरमा सुतिरहेकी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार घरमाथिबाट पहिरो खसेर घर पुरिएको थियो। पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएको घरबाट शव निकाल्ने तथा उद्धार कार्य गरिएको प्रहरीले जनाएको छ।

पहिरोबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

शनिबार राति थप एक जनाको मृत्यु भएसँगै बुधबारयता रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। एक जना अझै बेपत्ता छन्।

यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती बगाउँदा १२ जनाको मृत्यु भएको थियो। घटनामा एक जना अझै बेपत्ता छन् भने दुई जना घाइतेको बुटवलमा उपचार भइरहेको छ।

त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो।

पाँच दिनको अवधिमा रोल्पाको पूर्वी क्षेत्रमा पहिरोबाट १७ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।