जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०८:२८

आजको मौसम : मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना


काठमाडौं, साउन ३१ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ।

अहिले देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी सूचनामा अद्यावधिक भइरहन महाशाखाले आग्रह गरेको छ।