काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको हो ।
बहुमतको समर्थन प्राप्त भए पनि सरकारले अहिलेसम्म नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकारलाई एक प्रकारको ‘कामचलाउ’ सरकारको संज्ञा दिनुभयो ।
वर्तमान सत्ता पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा समेत आशंका व्यक्त गर्दै कोइरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जान सक्ने सम्भावना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ । बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ ।’
राजनीतिमा सरकारको कार्यकाल पूरा नहुन सक्ने अवस्था असम्भव नरहेको उल्लेख गर्दै उहाँले बीचमै मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्