काठमाडौं,साउन ३१ । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक भासिँदा देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आइतबार बिहान ५ बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा शनिबार राति सडक माथिबाट रुखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिबाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि कोसी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार राति मर्स्याङ्दी गाउँपालिका–४ मा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै, थासाङ गाउँपालिका–४ कैकु खोलामा ढुंगासहितको लेदो पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीमा इकु पहिरो तथा लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
इलामको राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्य भएपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन । उक्त स्थानमा वैकल्पिक सडक भने रहेको प्रहरीले जनाएको छ ।
रसुवाको पासाङ ल्हामु सडकखण्ड र रुकुमपश्चिमको भेरी करिडोरसमेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, वर्षाका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
वर्षा निरन्तर भइरहेकाले अवरुद्ध सडकखण्डमा थप पहिरो तथा बाढीको जोखिम रहेको भन्दै प्रहरीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्